Warning: A non-numeric value encountered in /home/radiobaadal/domains/radiobaadal.com/public_html/system/nepali_calendar.php on line 344

 मालपोत कार्यालय कलैयाका प्रमुख गिरीले पैसा लिएपनि नियुक्ति नदिएको आरोप

कलैया - भुमि सुधार तथा मालपोत कार्यालय कलैया बाराको प्रमुख राजेश गिरीले कार्यालय सहयोगी पदमा नियुक्ति गर्न पैसा लिए पनि नियुक्त नगरेको आरोप लागेको छ। मालपोत कार्यालय प्रमुख गिरीले दुई जनासँग जनही एक लाख र ५० हजार लिएपनि नियुक्ति नदिएको आरोप रहेको छ।

कार्यालय सहयोगी पदमा नियुक्ति पाउन महागढीमाई नगरपालिका वडा नं ५ बस्ने अरुण कुमार चौधरीले मालपोत कार्यालय प्रमुख गिरीलाई मिति २०८० श्रावण १६ गते एक लाख रुपियाँ सहित नियुक्तको लागि निवेदन दिएको आरोप लगाएका छन्। साथै चौधरीले एक लाख ५० हजारमा कुरो मिलेको हुनाले कलैया स्थित पन्ना बागमा कार्यालय प्रमुख गिरी बस्ने क्वाटरमा उक्त रकम र निवेदन दिएको जानकारी कार्यालय प्रमुख गिरी कै कक्षमा पत्रकारहरु समक्ष बताएका छन्।

साथै कार्यालय प्रमुख उक्त दिन पैसा र निबेदन लिई भोलि भेट्न आदेश दिएकोमा श्रावण १७ गते उहाँको क्वाटरमा भेट्न जाँदा टोक आदेश लगाएको निबेदन, नियुक्तिको लागि टिप्पणी आदेश र सम्झौता पत्रमा मेरो सहि छाप गराई त्यसको फोटोकपी दिदै बाँकि रहेको ५० हजार लिएर आउनु र आफ्नो नियुक्ति पत्र लिएर जानु भनेको जानकारी समेत गिरी कै कक्षमा नै चौधरीले दिएका छन्।
चौधरीले पाएको करार सेवा सम्बन्धको टिप्पणी आदेश पत्र २०८० साल श्रावण १७ गतेको रहेको छ। उक्त पत्रमा मालपोत कार्यालय कलैया बाराको लेखापाल छोटेलाल यादव र नायब सुब्बा सागर गुप्ताको हस्ताक्षर रहेपनि कार्यालय प्रमुख गिरीको हस्ताक्षर नरहेको देखिन्छ।

त्यस्तै कलैया उपमहानगरपालिका वडा नं ९ बस्ने रामकुमार यादवले पनि कार्यालय प्रमुख गिरीलाई आफ्नो नियुक्ति कार्यालय सहयोगीमा गरीदिन रु ७५ हजार सहित निबेदन दिएको बताएका छन्। यादवको अनुसार यहि श्रावण २९ गते कार्यालय प्रमुख गिरीको पन्ना बाग स्थित कृष्ण मन्दिर नजिक रहेको क्वाटरमा उक्त पैसा र निवेदन दिएको बताउदै कार्यालय प्रमुख गिरीले १० दिन भित्रमा नियुक्त दिने र बाँकि रहेको ५० हजार रुपैयाँ लिदै आउन भनेको जिकिर गरेका छन्। भदौ महिनाको पहिलो हप्तामा आफु बाँकि रहेको रु ५० हजार लिई कार्यालय प्रमुखसँग भेट्दा होईन थप ५० हजार अरु माग गरेपछि मैले हाम्रो कुरा एक लाख २५ हजारमा भएको बताउँदा होईन थप रु ५० हजार नदिएसम्म नियुक्ति नदिने अडान कार्यालय प्रमुख गिरीले लिएको जानकारी कार्यालय प्रमुख गिरी कै अगाडि यादवले पत्रकारहरुलाई दिएका छन्।

कार्यालय प्रमुख गिरी कै कक्षमा उहाँ कै अगाडि सिम्रौनगढ नगरपालिका वडा नं २ बस्ने तारा चन्द्र प्रसाद साहले मालपोत कार्यालय प्रमुख गिरीको कार्यकक्षमा नै १० लाख घुस नदिएको कारण मुद्दा हारेको गुनासो गरेका छन्। साहले आफु घर बारी मोहि लागत कट्टा मुद्दा भुमिसुधार तथा मालपोत कार्यालयमा दुई जनालाई बिपक्षी बनाई दिएको बताएका छन्। दुई जना बिपक्षीहरु मध्ये एक जनाले मात्र प्रतिउत्तर दिएका थिए। तर पनि मालपोत कार्यालय प्रमुख गिरीले बिपक्षीको हकमा नै फैसला दिएको आरोप लगाएका छन्।

मालपोत कार्यालय प्रमुख गिरीले आफ्नो मोबाइल नम्बर ९८५१०००९७७ बाट मेरो मोबाईल नम्बर ९८४५०४०९६६ मा रामचन्द्र भन्ने ब्यक्तिको मोबाईल नम्बर ९८४१९४५०३६ पठाई कुरा गर्न भनेको बताउदै उक्त रामचन्द्र भन्ने ब्यक्तिसँग कुरा गर्दा तपाईले मुद्दा आफ्नो पक्षमा फैसला गराउनु पर्ने भए ल्याण्डलाईनबाट कल गर्न भनिएको साहले कक्षमा नै पत्रकार र कार्यालय प्रमुख गिरी अगाडि बताएका छन्।

ल्याण्डलाईनको नम्बर ०५३५५०२९१ बाट रामचन्द्र भन्ने ब्यक्तिलाई कल गर्दा दाङ्ग तामाङको नाममा रहेको सानिमा बैंकको खाता नम्बर ०४७०११०६००००२६५ मा दस लाख जम्मा गरी दिनु तपाईको पक्षमा मुद्दा फैसला हुने बताएको जानकारी साहले दिएका छन्। आफुसँग त्यति रकम नभएकोले मालपोत कार्यालय प्रमुख गिरीले मेरो पक्षमा फैसला नगरी बिपक्षी एक जनाले प्रतिउत्तर नचढाए पनि बिपक्षीको फैसला गरेको आरोप समेत साहले लगाएका छन्।

मालपोत कार्यालय प्रमुख गिरीले आफु माथि लगाईएको आरोपको बिषयमा नागरिक उन्मुक्ति पार्टीको मधेश प्रदेश अध्यक्ष रामचन्द्र चौधरीको श्रीमति सुनिता कुमारी चौधरीको कम्प्युटर अपरेटर पदमा नियुक्ति नगरेको कारणले हो भनि बताएका छन् । भुमि सुधार तथा मालपोत कार्यालय कलैया बाराको सम्पुर्ण कामकाज अनलाईन र भु सेवा केन्द्र लागु भईसकेको कारणले कम्प्युटर अपरेटरमा दक्ष जनशक्ति हुनु पर्नेमा रामचन्द्र चौधरीको श्रीमति दक्ष नभएकोले नियुक्ति गर्न नसकिएको प्रतिशोध साध्न सबै आरोप लगाएको गिरीले बताएका छन्। 

साथै यादवसँग मेरो पहिलो चोटी मात्र भेटघाट भएको र अरुण कुमार चौधरीको निबेदन समेत क्वाटरमा ल्याई मेरो पार्टीको नै भुमि सुधार मन्त्री भएकोले टोक आदेश लगाई दिन आग्रह गरेको कारण टोक आदेश लगाईएको हो। मोहि लागत कट्टा मुद्दामा ताराचन्द्र प्रसाद साहले झोला मै पैसा बोकि यस कार्यालयमा कार्यरत बिष्णु भन्ने कर्मचारी तथा मेरो क्वाटरमा खाना पकाउने केटालाई दिन आएको तर लिन नमानेको कारण आरोप लगाएको बताएका छन्।

समग्रमा हेर्दा मालपोत कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका राजेश गिरी कार्यभार सम्हालेदेखि नै भुमि सुधार तथा मालपोत कार्यालय कलैया बारामा भ्रष्टाचार मौलाएको छ। गिरीले मालपोत कार्यालयमा कार्यरत रहेका फाँट प्रमुखको जिम्मेवारी हेरफेर गरी मुद्दा फाँटमा आफ्नो नजिकको कर्मचारीलाई राखि कमाईखाने भाँडो बनाएको आरोप कर्मचारी भित्रबाटै नै रहेको छ।

प्रतिकृया दिनुहोस