Warning: A non-numeric value encountered in /home/radiobaadal/domains/radiobaadal.com/public_html/system/nepali_calendar.php on line 344

इलाका प्रशासन कार्यालय सिम्रौनगढ र कोल्हवीका कार्यालय प्रमुख नहुँदा सेवा प्रवाह प्रभावित

file image

बारा जिल्लाका दुई वटा इलाका प्रशासन कार्यालयले आफ्नो क्षेत्रभित्रका बासिन्दालाई पछिल्लो समय सेवा दिन सकेका छैनन् । इलाका प्रशासन कार्यालय सिम्रौनगढ र इलाका प्रशासन कार्यालय कोल्हवीका कार्यालय प्रमुख नहुँदा सेवा प्रवाह प्रभावित भएको हो । इलाका प्रशासन कार्यालय सिम्रौनगढमा एक महिनादेखि कार्यालय प्रमुख नहुँदा स्थानीयहरु नागरिकता बनाउन सदरमुकाम कलैया धाउन बाध्य भएका छन् । 

यसअघि गाउँ–ठाउँबाटै एक दिनमै नागरिकता पाएका सिम्रौनगढका स्थानीयले पछिल्लो समय सदरमुकाम धाउनु परेको गुनासो गरेका छन् । सिम्रौनगढ, जानकीनगरका पशु रामले नागरिकता बनाउन कलैया धाउनुपर्दा धेरै पैसा खर्च हुने र धेरै दिन धाउनुपरेको गुनासो गरे । 

सिम्रौनगढस्थित इलाका प्रशासन कार्यालयका प्रमुख दसैँलगत्तै सरुवा भएर अन्यत्र गएपछि नागरिकता जारी गर्ने कार्य रोकिएको हो ।सो कार्यालयमा अहिले एक जना नायव सुब्बा, २ जना कार्यालय सहयोगी छन् । 

नयाँ नागरिकता, प्रतिलिपि नागरिकता र प्रमाणित कागजपत्र बनाउन जिल्ला प्रशासन कार्यालय कलैया पठाउने गरेको कार्यालय सहयोगी रामविश्वास कुशवाहाले जनाए ।उनले इप्रका सिम्रौनगढबाट अभिलेख राख्ने र नागरिकता लिन आउनेलाई सबै कागजातहरु चुस्तदुरुस्त गरेर पठाउने गरेको बताए । 

इलाका प्रशासन कार्यालय सिम्रौनगढमा यसअघि दैनिक २५ देखि ३० वटा नयाँ नागरिकता र ८ देखि १० वटा प्रतिलिपि जारी हुने गर्दथ्यो । जिल्लाको दक्षिणतर्फ रहेको सिम्रौनगढ सँगसँगै उत्तरतर्फ रहेको इलाका प्रशासन कार्यालय कोल्हवीमा समेत पछिल्लो समय प्रमुख नहुँदा नागरिकता जारी हुने कार्य रोकिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

कोल्हवीका स्थानीयहरु पनि नागरिकता बनाउन कलैया धाउने गरेका छन् । जसले गर्दा जिल्ला प्रशासन कार्यालयमा कामको चाप बढेको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए । नियमित रुपमा जारी गरिने नागरिकता, प्रतिलिपि नागरिकता लिन आउने सेवाग्राहीको चाप बढेपछि गृह मन्त्रालयमा अधिकृत पठाइदिन पटक पटक अनुरोध गरे पनि सुनवाइ नभएको प्रजिअ सापकोटाले जनाए । - रातोपाटिबाट 

प्रतिकृया दिनुहोस