बारा लक्ष्मीटोलका एक पुरुष 'घुमुवा प्रहरी हुँ' भन्दै व्यापारीबाट पैसा असुलेको आरोपमा पक्राउ

file image

सर्लाही - 'घुमुवा प्रहरी हुँ' भन्दै व्यापारीबाट पैसा असुल्दै हिँडेको आरोपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

 

बाराको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ८ स्थित लक्ष्मीटोल बस्ने ४५ वर्षीय गोविन्द महतो कोइरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

 

५/६ महिनादेखि आफू मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको बारा, पर्सा र रौतहट जिल्लाको घुमुवा प्रहरी रहेको भन्दै व्यापारीहरूसँग महिनावारी रकम उठाइरहेको सूचना प्राप्त भएपछि कोइरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिए।

 

सिर्सिया प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ हरपतगञ्जबाट पक्राउ गरेको थियो। उनलाई थुनामा राखी थप अनुसन्धान गरिरहेको डिएसपी थापाले बताए।

प्रतिकृया दिनुहोस